१५ वर्षको लामो वैवाहिक यात्रापछि बलिउड अभिनेता आमिर खान र उनकी श्रीमती किरण रावले गत जुलाईमा सम्बन्ध-विच्छेद गरे। आफ्नो दोस्रो विवाह सफल हुन नपाउँदै आमिर तेस्रो पटक बिहे गर्न खोजिरहेको चर्चा पनि निकै थियो।
अहिले भने उनले गुपचुप आफ्नी प्रेमिकासँग बिहे गरेको हल्ला फैलिएको छ। बलिउड लाइफका अनुसार हाल आमिर आफ्नो ‘दंगल’ फिल्ममा सँगै अभिनय गरेको अभिनेत्री फतिमा साना शेखसँग प्रेम सम्बन्धमा छन्। यससँगै केही दिन यतादेखि सामाजिक सञ्जालभर उनीहरुको एउटा फोटो भाइरल भइरहेको छ। जसले गर्दा प्रशंसकले उनीहरु वैवाहिक जीवनमा बाँधिएको अनुमान गरेका हुन्।
सो फोटोमा आमिर पार्टी लुगामा देखिएका छन् र फातिमा भने सारीमा सजिएकी हुन्छिन्। उनीहरुले क्यामरामा हेरेर नै पोज दिएका छन्। त्यसो भए आमिरले साँच्चिकै तेस्रोेपटक बिहे गरेका हुन् त? बलिउड लाइफले आमिर र फातिमाको भाइरल फोटो झुटो रहेको बताएको छ।
वास्तवमा त्यो फोटोमा आमिरको छेउमा रहेकी महिला उनकै पूर्व श्रीमती किरण हुन्। आकाह अम्बानी र श्लोका मेहताको इन्गेजमेन्ट कार्यक्रमको बेला उनीहरुले सँगै फोटो खिचाएका थिए। त्यही फोटो लिएर केही व्यक्तिले किरणको टाउको हटाएर त्यसमा फातिमाको अनुहार राखेका रहेछन्। यसले आमिर र फातिमाको बिहे नभएको प्रमाणित भएको छ।