Home अन्तर्वाता आलिया भट्टले आफ्नै फिल्म हेराउन भन्दा किन मानेनन् निर्देशक भन्सालीले?

आलिया भट्टले आफ्नै फिल्म हेराउन भन्दा किन मानेनन् निर्देशक भन्सालीले?

547
0
रणवीर कपुर र आलिया भट्ट (बायाँ) र निर्देशक सञ्जय लीला भन्साली। तस्बिर स्रोत: बलिउड हंगामा

सञ्जय लीला भन्साली बलिउडमा यस्ता निर्देशकका रूपमा चिनिन्छन् जसले आफ्नो सिनेमामार्फत् दर्शकलाई एउटा भव्य र अद्भूत संसारमा विचरण गराउँछन्।

उनले यात्रामा लैजाने त्यो संसार इतिहासको कुनै कालखण्ड हुनसक्छ वा तपाईं-हामी बाँचिरहेको आजकै समय पनि हुनसक्छ।

इतिहासको कालखण्ड होस् वा आजको समय- भन्साली त्यसमा आफ्नो परिकल्पनाको रस घोलेर अद्भूत ढंगमा प्रस्तुत गर्न माहिर छन्। चाहे त्यो बोल्न-सुन्न नसक्नेहरूको सपनाको कथा देखाइएको ‘खामोशी: द म्युजिकल’ होस् वा त्रिकोणात्मक प्रेमकथामा आधारित ‘हम दिल दे चुके सनम’। ‘देवदास’ को काव्यिक प्रेमकथा होस् वा श्वैरकल्पनामा आधारित ‘साँवरिया’। ऐतिहासिक विषयवस्तुमा आधारित ‘बाजीराव मस्तानी’ देखि ‘पद्मावत’ मा समेत भन्सालीले आफ्नो भरपुर सिनेम्याटिक छाप छाडेका छन्।

यी निर्देशक एउटा अर्को कारणले पनि प्रख्यात् छन्। उनी आफूले बनाएको फिल्म औपचारिक रिलिजअघि अरू कसैलाई देखाउने र उनीहरूको प्रतिक्रिया लिनेमा विश्वास गर्दैनन्। कतिचोटि त आफ्ना अभिनेताहरूले आग्रह गर्दा पनि उनी फिल्म देखाउन मान्दैनन्।

भन्सालीको नयाँ फिल्म ‘गंगुबाई काथियावाडी’ प्रदर्शनको अन्तिम तयारीमा छ। आउँदो फेब्रुअरी १८ मा फिल्म रिलिजको तिथि तय भइसकेको छ। त्यसैको पूर्वसन्ध्यामा फिल्मकी अभिनेता आलिया भट्टले निर्देशक भन्सालीसँग एउटा आग्रह गरेकी थिइन् जसलाई भन्सालीले सरासर इन्कार गरेका छन्।

बलिउड गतिविधिहरू प्रकाशन गर्ने अनलाइन पत्रिका ‘बलिउड हंगामा’ का अनुसार आलियाले आफू र आफ्ना प्रेमी रणवीर कपुरको परिवार निम्ति गंगुबाई काथियावाडीको विशेष शो राख्न आग्रह गरेकी थिइन्। यसमा भन्सालीले सिधै जवाफ दिए- नो।

आलिया र रणवीर दुवैको परिवार बलिउडका लागि नौलो नाम होइन। आलिया चर्चित निर्देशक महेश भट्टकी छोरी हुन् भने चर्चित कलाकार पूजा भट्टकी बहिनी हुन्। ऋषि कपुर र नितु सिंहका छोरा रणवीरको कपुर खानदान त चार पुस्तादेखि बलिउडमा संलग्न छ। यस्ता हस्तीहरूलाई रिलिजअघि नै आफ्नो फिल्म देखाउन र प्रतिक्रिया लिन धेरै निर्देशक लालायित हुन्छन्। भन्सालीले भने भट्ट परिवार र कपुर परिवार दुवैलाई आफ्नो नयाँ फिल्म देखाउन मानेनन्।

उनले यसरी रिलिजअघि फिल्म देखाउन अस्वीकार गरेको यो पहिलोचोटि होइन।

यसअघि उनले रणवीर र सोनम कपुरको पहिलो फिल्म ‘साँवरिया’ को एउटा दृश्य पनि यी दुवै परिवारलाई अग्रिम रूपमा देखाएका थिएनन्।

‘गंगुबाई काथियावाडी’ लाई आलियाको करिअरकै महत्वपूर्ण सिनेमाका रूपमा लिइएको छ। उनी आफैंले फिल्ममा गरेको अभिनयप्रति गर्व गरेकी छन्। आफूले विगतमा खेल्दै आएको भूमिकाभन्दा यसमा उनको भूमिका पृथक छ। भन्सालीकै टिमले यो फिल्मबाट आलियाले राष्ट्रिय पुरस्कार जित्न सक्ने आशा व्यक्त गरेको छ।

यसरी सबैले तारिफ गरेको र आफैंलाई पनि फिल्म दमदार लागेकाले आलिया परिवारका सदस्यहरूलाई देखाउन व्यग्र रहेको बलिउड हंगामाले लेखेको छ।

बलिउड हंगामाका अनुसार आलियाबाट यस्तो आग्रह आएपछि निर्देशक भन्सालीले फिल्मका सह-निर्माता जयन्तीलाल गाडालाई समेत ‘कसैको निम्ति पनि फिल्मको विशेष शो नराख्न’ भनेका छन्। भन्साली आफू पनि यो फिल्मका सह-निर्माता हुन्।

REVIEW OVERVIEW
Previous articleकपिल शर्मा शोमा पुगेर एनटिआर र रामचरणले के गरे?
Next articleसुस्मिता सेनले तोडिन् तीन वर्षको प्रेम सम्बन्ध

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here