Home अन्तर्वाता सुस्मिता सेनले तोडिन् तीन वर्षको प्रेम सम्बन्ध

सुस्मिता सेनले तोडिन् तीन वर्षको प्रेम सम्बन्ध

663
0

सन् १९९४ की मिस युनिभर्स विजेता सुस्मिता सेनले आफ्नो तीन वर्षभन्दा पुरानो प्रेम सम्बन्धलाई ‘ब्रेकअप’ गरेकी छन्।

उनले रोहमन सलसँगको आफ्नो प्रेम सम्बन्ध अन्त्य भएकोबारे बिहीबार इन्स्टाग्राममार्फत् सार्वजनिक जानकारी दिएकी हुन्। सम्बन्ध टुटे पनि रोहमन सधैं आफ्नो साथी रहने सुस्मिताले लेखेकी छन्।

आफ्नो र रोहमनको तस्बिर पोस्ट गर्दै सुस्मिताले इन्स्टाग्राममा लेखेकी छन्, ‘हाम्रो सम्बन्ध साथीका रूपमा सुरू भएको थियो, हामी साथीकै रूपमा रहने छौं!!! सम्बन्ध टुटे पनि हाम्रो माया सधैं रहिरहनेछ!!!’

सुस्मिता र रोहमनको सम्बन्ध टुटेको विषयमा केही समयदेखि नै अड्कलबाजीहरू हुँदै आएका थिए। आफ्नो जिन्दगीको यो व्यक्तिगत विषयमा मौन रहँदै आएकी सुस्मिताले बिहीबार अड्कलबाजी सही भएको घोषणा गरेकी हुन्।

सुस्मिताको यही स्ट्याटसमा प्रतिक्रिया दिँदै रोहमनले ‘सधैं’ भनेर लेखेका छन् र साथमा ‘हार्ट’ (मुटु) को इमोजी टाँसेका छन्। उनले यहाँ ‘सधैं’ भन्नुको आसय सुस्मिताले लेखेजस्तै उनीहरूको मित्रता सधैं रहिरहनेछ भन्ने हो।

sanima
ncit
everyghar

सुस्मिता र रोहमनको प्रेम सम्बन्ध सन् २०१८ देखि सुरू भएको थियो। उनीहरूको अफेयर कसरी सुरू भयो भन्ने कथा पनि रोचक छ।

यी दुवै पहिलेदेखि एकअर्कालाई चिन्थेनन्। आज जसरी सुस्मिताले इन्स्टाग्रामबाट ब्रेकअप घोषणा गरेकी छन्, तीन वर्षअघि उनीहरूको सम्बन्ध त्यही इन्स्टाग्रामबाट सुरू भएको थियो।

बलिउड गतिविधिसम्बन्धी अनलाइन पत्रिका ‘पिंकभिला’ ले लेखेअनुसार एकदिन रोहमनले इन्स्टाग्राममा सुस्मितालाई सन्देश पठाएका थिए। त्यसो त सुस्मितालाई सामाजिक सञ्जालमा अनगिन्ती सन्देशहरू आउँछन्। उनलाई ती सबै सन्देश पढ्ने फुर्सत पनि हुँदैन। तर रोहमनले पठाएको सन्देश चाहिँ उनले झुक्किएर क्लिक गरिन्।

क्लिक भइसकेपछि उनले सर्सर्ती सन्देश पढिन्। त्यो एउटा सन्देशबाटै आफू रोहमनबाट प्रभावित भएको सुस्मिताले एक अन्तर्वार्तामा बताएकी थिइन्।

सुस्मिताले सुरूमा सामान्य औपचारिक जवाफ फर्काइन्। त्यसपछि उनीहरूबीच इन्स्टाग्राममै सन्देश आदानप्रदानको सिलसिला सुरू भयो। यो सिलसिला बिस्तारै प्रेम सम्बन्धमा बदलियो।

सामाजिक सञ्जालमार्फत् सुस्मितासँग नजिकिएपछि उनको परिवारसँग पनि रोहमनको निकट सम्बन्ध सुरू भयो। सुस्मिताले आफ्ना छोरीहरू एलिशा र रिनेसँग पनि रोहमनलाई भेटाए। यी छोरीहरू सुस्मिताले ‘एडप्ट’ गरेकी हुन्।

सुस्मिताले आफू र आफ्ना छोरीहरूसँग खिचिएका रोहमनका तस्बिर इन्स्टाग्राममा पटकपटक सार्वजनिक गरेकी थिइन्।

गत महिना सुस्मिताको ४६औं जन्मदिनका अवसरमा रोहमनले इन्स्टाग्राममै शुभकामना सन्देश पठाएका थिए। ‘ह्याप्पी बर्थडे बाबुस’ लेखिएको उक्त सन्देशका साथमा मुटु र अंगालोका इमोजीहरू पनि टाँसिएका थिए।

सुस्मिताले दुई वर्षअघि बलिउड फिल्म पत्रकार अनुपमा चोपडासँगको अन्तर्वार्तामा रोहमनसँगको प्रेम सम्बन्धबारे केही जानकारी दिएकी थिइन्। उक्त अन्तर्वार्तामा उनले पहिलोचोटि भेट्दा रोहमनले आफ्नो उमेर ढाँटेको बताएकी थिइन्। सुस्मिता र रोहमनको उमेरमा १५ वर्षको फरक छ। त्यो अन्तर्वार्ता प्रसारण हुँदा सुस्मिता ४४ वर्षकी थिइन् भने रोहमन २९ वर्षका थिए।

‘सुरूमा रोहमनले आफ्नो उमेर ढाँटेको थियो। म सधैं उसलाई ‘तिमी एकदमै जवान देखिन्छौ, कति वर्षको भयौ’ भनेर सोध्थेँ। ऊ भने ‘तिमी आफैं अन्दाज गर’ भन्थ्यो। पछि मैले उसको वास्तविक उमेर थाहा पाएँ। मभन्दा धेरै कान्छो भएकाले उसले उमेर ढाँटेको रहेछ,’ सुस्मिताले अनुपमासँगको अन्तर्वार्तामा भनेकी थिइन्, ‘त्यसैले मलाई लाग्छ हामीले एकअर्कालाई चुनेका होइनौं, भाग्यले हामीलाई एकअर्काका निम्ति चुनेका हो।’

त्यसपछिका अन्तर्वार्तामा पनि सुस्मिताले आफ्नो प्रेम सम्बन्ध कहिल्यै लुकाइनन्। बलिउडमा उनको जोडीलाई सबैले मन पराएका थिए। प्रशंसक तथा शुभचिन्तकहरू उनीहरूको बिहेको खबर सुन्ने प्रतीक्षामा थिए।

पछिल्लो केही समयदेखि भने सुस्मिता र रोहमनको सम्बन्ध टुट्दै गएको हल्ला पनि चलेको थियो जसलाई सुस्मिताले नै पुष्टि गरेकी छन्। उनले तीन वर्ष पुरानो यो प्रेम सम्बन्धमा पूर्णविराम लगाउनुको कारण भने खुलाएकी छैनन्।

सुस्मिताले इन्स्टाग्राममा ब्रेकअप घोषणा गरेपछि ट्वीटरमा आफ्नो एउटा फोटो सार्वजनिक गरेकी छन्। फोटोसँगै उनले ‘आफैंभित्रको यात्रा’ लेखेकी छन् र रातो मुटु टाँसेकी छन्।

Previous articleआलिया भट्टले आफ्नै फिल्म हेराउन भन्दा किन मानेनन् निर्देशक भन्सालीले?
Next articleकट्रिना–विक्कीले गरे बिहे, हेर्नुहोस् तस्बिरहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here