भजन शिरोमणि भक्तराज आचार्यको जीवनीमा आधारित फिल्म ‘आचार्य’ को प्रदर्शन रोकिएको छ । फिल्मले सेन्सर प्रक्रिया पूरा नगरेको भन्दै चलचित्र विकास बोर्डले रिलिजको एक सातापछि प्रदर्शन रोकेको हो ।
१३ वर्षअघि प्रदर्शन भइसकेको फिल्म गत शुक्रबारबाट पुन: प्रदर्शन गरिएको थियो । तर पाँच वर्षपछि पुन: रिलिज गर्दा सेन्सर पास गर्नुपर्ने प्रावधान छ । ‘आचार्य’ ले उक्त प्रक्रिया पूरा नगरेकाले सञ्चार तथा सूचना प्रविधिको मन्त्रालयको निर्देशन अनुसार बोर्डले अनुगमन गरी शुक्रबारबाट प्रदर्शन रोकेको हो ।
आचार्य’ को निर्माता रोशन राईले भने आफूहरुले फिल्म पुन: सेन्सर गर्न खोजे पनि नमिलेको बताए । ‘पाँच वर्ष कटेपछि चार महिनाभित्र सेन्सर रिन्यु गर्नुपर्ने रहेछ । हाम्रो फिल्म १३ वर्षअघि नै रिलिज भएको हो । त्यसैले जरिवाना तिरेर सेन्सर गर्छौं भन्दा पनि प्रावधानमा नमिल्ने भएर प्रक्रियामा नगएको निर्माण पक्षले जानकारी दिएका छन्।
प्रशान्त रसाइली निर्देशित फिल्मले भक्तराज आचार्यको जीवन संघर्षको कथा प्रस्तुत गर्छ । फिल्मले सत्यराज आचार्यले बुवा भक्तराज आचार्यको भूमिका निर्वाह गरेका छन् । फिल्मलाई केही दृश्य समेत थप गरेर पुन: प्रदर्शन गरिएको थियो ।