सन्तोष सेनको निर्देशन रहेको फिल्म ‘बलिदान’ को छायांकन सुरु गरिएको छ । हरितालिका तीजको अवसर पारेर मोरङको सुन्दरहरैंचास्थित पाथीभरा माताको मन्दिरमा शुक्रबार पूजा गरिएको हो ।
शनिबार इटहरीमा फिल्मको पहिलो दृश्यको छायांकन गरिएको हो। जसमा नायिका ऋचा शर्मा र केही बालबालिकाहरूको दृश्य खिचिएको निर्माणपक्षले बताएका छन् ।
निर्माण पक्षका अनुसार केही दिनपछि फिल्मका अभिनेता समीर भट्ट, अर्पण थापा, सौगात मल्ल, दिव्य देव लगायतका कलाकारहरुको छायांकन सुरु गरिनेछ । आसुसेन फिल्मस् प्रा.लि र सन्तोष सेनको प्रस्तुति रहेको यो फिल्मका निर्माता पवन ब्राडफोर्ड विस्ट र सह–निर्माता प्रेम पुरी हुन् ।
निर्देशक सेनले यो फिल्मका लागि लामो समयदेखि आफूहरूले धेरै मिहिनेत गरेको र सोही अनुसार प्रि–प्रोडक्शनमा समय लागेको बताए । छायांकनका लागि लाइट, साउन्ड, क्यामेराका उपकरणहरू भारतबाट ल्याइएको छ ।
छायांकनका लगि इटहरीस्थित बीएमसी स्टुडियोमा र विराटनगरमा भव्य सेट पनि तयार गरिएको छ । फिल्मको ६०% छायांकन सेटमै गर्ने निर्माण पक्षले जानकारी दिएका छन्।