अमेरिकामा ‘पहिलो गोल्डेन नेपाली फिल्म अवार्ड’ आयोजना भएको छ । वि.सं २०८० साल साउन १ गतेबाट वि.सं २०८१ साल असार सम्म प्रदर्शन भएका फिल्महरूलाई समावेश गरेर यो अवार्डको आयोजना गरिएको हो ।
अवार्ड शो मा नेपालका चर्चित अभिनेता शिव श्रेष्ठलाई ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’ बाट सम्मानित गरिएको छ भने अनमोल केसीले ‘फर्की फर्की’ फिल्मबाट ‘उत्कृष्ट नायक’ को अवार्ड जितेका छन् । फिल्म ‘डिग्री माइला’ बाट ‘उत्कृष्ट नायिका’ को अवार्ड आंचाल शर्माले जितेकी छन।
अभिनेता प्रदीप खड्का र केकी अधिकारीलाई ‘पपुलर अभिनेता र अभिनेत्री’ को अवार्ड प्रदान गरिएको हो। सर्वोत्कृष्ट फिल्म ‘पुजार सार्की’ लाइ दिइएको छ भने यसै फिल्मका निर्देशक दिनेश राउतले ‘सर्वोत्कृष्ट निर्देशक’ को अवार्ड जितेका हुन्।
‘जुरी अवार्ड’ ‘बोक्सीको घर’ ले प्राप्त गरेको छ भने ‘नाङ्गो गाउँ’ बाट एसडी योगीले ‘सर्वोत्कृष्ट पाश्र्व गायक’ र ‘बोक्सीको घर’बाट समीक्षा अधिकारीले ‘उत्कृष्ट पाश्र्व गायिका’ को अवार्ड प्राप्त गरेका छन्। नबिन सुब्बाको फिल्म ‘गाउँ आएको बाटो’ ले ‘क्रिटिक्स अवार्ड’ जितेको छ ।
दीपेन्द्र लामाले फिल्म ‘नाङ्गो गाउँ’बाट ‘सर्वोत्कृष्ट लेखन’,र यसै फिल्मबाट आलोक शुक्लाले ‘सर्वोत्कृष्ट छायांकार’ को अवार्ड प्राप्त गरेका छन्। फिल्म ‘उपहार’ बाट मित्र डी गुरुङले ‘सर्वोत्कृष्ट सम्पादक’ को अवार्द्जिते संगै प्रमोद अग्रहरिले फिल्म ‘अगस्त्य’ बाट ‘सर्वोत्कृष्ट सह–अभिनेताको अवार्ड प्राप्त गरेका हुन् ।
हिमालय फाउन्डेसन कर्प अनि गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियाको प्रमुख आयोजनामा सम्पन्न भएको यो अवार्ड समारोहमा नेपालबाट अभिनेताहरु भुवन केसी, शिव श्रेष्ठ, अनमोल केसी, जितु नेपाल, केदार घिमिरे, निर्देशक दीपाश्री निरौला, अभिनेत्रीहरु केकी अधिकारी, आँचल शर्मा, नीति शाह, बरिस्ट कलाकार तथा एभेरेस्ट फिल्म एकेडेमीका अधक्ष सुनिल थापा, कार्यक्रम संचालिका रीमा विश्वकर्मा लगायत अमेरिका गएका थिए।