विश्वप्रसिद्द चलचित्र महोत्सब “कान्स फिल्म फेस्टिवल” मा काठमाण्डौ महानगरपालिकाका प्रमुख ‘बालेन शाह’ सहभागी हुने भएका छन्। उनि हिजो सोमबार राति दुइ जना सल्लाहकारसहित फ्रान्सतर्फ प्रस्थान गरेका छन्।

कान्सका मेयर डेभिड लिसनार्डको निम्तोमा बालेन फ्रान्स जान लागेको हुन्। बालेनले फेस्टिभलमा तिन दिन बिताउने छन, त्यस क्रममा आयोजना हुने विविध कार्यक्रममा पनि उनको सहभागिता हुनेछ। मेयर लिसनार्ड र फेस्टिभल निर्देशकसंग उनको भेटवार्ता तय भएको छ।
बालेनले फेस्टिभलको रेडकार्पेट र प्रिमियरमा पनि सहभागी हुने छन्। बालनको सम्मानमा कान्सको मल्टिमिडिया लाइब्रेरीमा रिसेप्सनको आयोजना गरिएको छ।
फ्रान्सको कान्स सहर पनि फिल्मको ‘क्रिएटिभ सिटी’को एक सदस्य हो। कान्सका मेयरले बालेनलाई पठाएको निम्तो पत्रमा फेस्टिभल फिल्मको क्रिएटिभ सहरलाई एकठाउँमा ल्याउने अवसरको रुपमा उल्लेख गरेका छन् । यो भेटमा अन–एयर भनिने अडियो भिजुअल कन्टेन्ट चेनबारे जान्न सजिलो हुने कान्सका मेयरले उल्लेख गरेका छन्।
७७ औं कान्स फेस्टिभल १४ देखि २५ मेसम्म आयोजना हुँदैछ। यस वर्ष नेपालबाट कुनै फिल्म छनोट नभएपनि नेपालमा छायांकन भएको ‘द सेमलेस’ अन रिगार्ड विधा र नेपाली भाषाको फिल्म ‘तारा : अ लस्ट स्टार’ मार्केट स्क्रिनिङ विधामा छनोट भएका छन् । यी दुवै फिल्ममा नेपाली कलाकार र प्राविधिकको संलग्नता छ ।