भिन भामको निर्देशनमा बनेको फिल्म ‘शाम्बाला’ की अभिनेत्री थिन्ले ल्हामोले ७७ औं लोकार्मो फिल्म फेस्टिभलमा ‘बोक्कालिनो डिओर’ अवार्ड जितेकी छन् । यूरोपभरका फिल्म समीक्षकले यो अवार्ड उत्कृष्ट अभिनय गर्ने कुनै एक कलाकारलाई दिने गर्छन् ।
फिल्म शाम्बालाका निर्देशक, निर्माता र सम्पूर्ण निर्माण समूहले उनलाई नेपाल र नेपाली फिल्मका लागि ऐतिहासिक सफलता भएको भन्दै बधाई दिएका छन् । साम्बाला’ मा थिन्लेले बहुपति प्रथाअनुसार विवाह गरेकी एक डोल्पाली महिला पेमाको भूमिका निर्वाह गरेकी छन् ।
फिल्ममा थिन्लेसँगै सोनाम तोप्देन, तेन्जिङ दल्हा, कर्मा शाक्य, कर्मा वाङग्याल गुरुङ, लोतेन नाम्लिङ, जंगबहादुर लामा, छिरिङ ल्हामो गुरुङलगायत कलाकारहरुको अभिनय रहेको छ ।
यो फिल्म लोकार्नो फिल्म फेस्टिभलको मुख्य विधाको प्रतिस्पर्धाका लागि छनोट हुने पहिलो नेपाली फिल्म हो भने मिन भामकै सर्टफिल्म ‘बासुल्ली’ भेनिस फिल्म फेस्टिभलमा पुग्ने पहिलो नेपाली फिल्म बनेको थियो। फिल्म ‘कालोपोथी’ ले पनि भेनिस क्रिटिक्स विकमा ‘फेडेरा बेस्ट फिल्म अवार्ड’ जितेको थियो ।