चर्चित बलिउड अभिनेता मिथुन चक्रवर्तीलाई भारत सरकारले यो वर्षको दादासाहेब फाल्के अवार्ड प्रदान गर्ने भएको छ । केन्द्रीय मन्त्री अश्विनी वैष्णवले सोमबार यसको औपचारिक घोषणा गरे ।
असोज २२ गते आयोजना हुने ७०औँ राष्ट्रिय चलचित्र पुरस्कार समारोहमा सम्मान गरिने भएको छ । मिथुनले सन् १९७६ मा ‘मृगया’बाट फिल्मी करिअर थालेका थिएभने पहिलो फिल्मबाटै उनले राष्ट्रिय पुरस्कार पनि जितेका थिए ।
केन्द्रीय मन्त्री वैष्णवले सामाजिक संजाल एक्समा लेख्दै ‘मिथुन दाको उल्लेखनीय चलचित्र यात्राले धेरै पुस्तालाई प्रेरित गरेको छ । दादासाहेब फाल्के छनोट निर्णायक मण्डलले भारतीय सिनेमामा उनको प्रतिष्ठित योगदानको लागि यसवर्ष प्रसिद्ध अभिनेता मिथुन चक्रवर्तीलाई यो पुरस्कार दिने निर्णय गरेको घोषणा गर्न पाउँदा हामी गर्व गर्दछौं ’ जानकारी दिए ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो सामाजिक संजालमा लेख्दै ‘भारतीय सिनेमामा अनुपम योगदानका लागि मिथुन चक्रवर्तीलाई दादासाहेब अवार्डबाट सम्मानित गर्न पाउँदा खुसी लागेको छ ।’ मिथुनलाई बधाई दिएका छन्।